काठमाडौं । हुवावेले नेपालमा नयाँ स्मार्टवाच सिरिज ‘हुवावे वाच जीटी ७’ सार्वजनिक गरेको छ । यस सिरिजमा वाच जीटी ७ र वाच जीटी ७ प्रो गरी दुई मोडल उपलब्ध छन् ।
वाच जीटी ७ को मूल्य ४४ हजार ९९० रुपैयाँ तोकिएको छ भने जीटी ७ प्रोको मूल्य ६४ हजार ९९० रुपैयाँ रहेको छ ।
जीटी ७ को ४६ एमएम मोडल कालो र पहेँलो रङमा तथा ४१ एमएम मोडल गुलाबी रङमा उपलब्ध छ । त्यस्तै, जीटी ७ प्रोको ४६ एमएम मोडल कालो, हरियो र पहेँलो रङमा पाइने कम्पनीले जनाएको छ ।
जीटी ७ प्रोमा बलियो टाइटेनियम एलोय केस, सिरेमिक बेजेल र नीलमणि ग्लास प्रयोग गरिएको छ । यसमा १.४७ इन्चको एमोलेड डिस्प्ले छ, जसको ब्राइटनेस ३ हजार निट्ससम्म पुग्छ । यसले घाम लागेको ठाउँमा पनि स्क्रिन हेर्न सजिलो बनाउँछ ।
यो स्मार्टवाचमा जीपीएस प्रविधि भएकाले दौडिँदा, हिँड्दा वा यात्रा गर्दा आफ्नो बाटो र दूरीको विवरण थाहा पाउन सकिन्छ । ट्रेल रनिङ मोडमा उचाइ, गति, दूरी, उकालो–ओरालो र मुटुको धड्कनसम्बन्धी जानकारी पनि हेर्न सकिन्छ ।
त्यस्तै, यसमा साइकलिङ, गल्फ र ४० मिटरसम्म पानीमुनि फ्रिडाइभिङ गर्न सहयोग गर्ने विशेष सुविधा छन् । स्वास्थ्य निगरानीका लागि मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा, निद्रा, तनाव र मुटुको धड्कनमा हुने परिवर्तन मापन गर्न सकिन्छ । यसमा ईसीजी विश्लेषण सुविधा पनि छ ।
स्मार्टवाचमा ११० भन्दा बढी प्रकारका व्यायाम तथा वर्कआउट मोड उपलब्ध छन् । यसको फिजिकल रेडिनेस स्कोरले शरीरको थकान र रिकभरीको अवस्थाबारे जानकारी दिँदै दैनिक गतिविधिका लागि शरीर कत्तिको तयार छ भन्ने बुझ्न सहयोग गर्छ ।
कम्पनीका अनुसार जीटी ७ प्रोको ब्याट्री हल्का प्रयोगमा २१ दिनसम्म र सामान्य प्रयोगमा १२ दिनसम्म टिक्न सक्छ । ट्रेल रनिङ मोडमा भने ब्याट्री ५१ घण्टासम्म चल्ने दाबी गरिएको छ । यो स्मार्टवाच एन्ड्रोइड र आईओएस दुवैमा प्रयोग गर्न सकिन्छ ।
कम्पनीले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ । यसअन्तर्गत जीटी ७ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने ह्वावेई फ्रिबड्स एसई २ इयरबड्स निःशुल्क पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया