साइबर सुरक्षा बलियो बनाउन गुगलले ल्यायो नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’

लोकपथ
28
Shares

काठमाडौं । गुगलले सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउन, परीक्षण गर्न र समाधान खोज्न सक्ने नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ ।

गुगलका अनुसार यो मोडल विशेषगरी साइबर सुरक्षा र जटिल सफ्टवेयर इन्जिनियरिङका कामका लागि तयार गरिएको हो । यसले सफ्टवेयरको कोड विश्लेषण गरी त्रुटिको कारण पत्ता लगाउनुका साथै त्यसलाई सुधार गर्ने उपायसमेत खोज्न सक्छ ।

कम्पनीको ब्लग पोस्टअनुसार कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।

सुरक्षा कमजोरी पहिचान गर्ने एसईसी–बेन्च प्रो परीक्षणमा मोडलले ८८.२ प्रतिशत अंक प्राप्त गरेको गुगलले जनाएको छ । त्यस्तै, कमजोरीको सम्भावित दुरुपयोग परीक्षण गर्ने एक्सप्लोइटजिममा ५४.८ प्रतिशत र कमजोरी समाधान गर्ने क्षमता मापन गर्ने सीडब्ल्यूई–बेन्चमा ७१ प्रतिशत अंक हासिल गरेको कम्पनीको दाबी छ ।

गुगलको आन्तरिक परीक्षणमा सुरक्षित कोड निर्माण गर्ने क्षमतामा कार्बनले यसअघिको जेमिनाइ ४ आर्गनभन्दा दोब्बरभन्दा बढी राम्रो प्रदर्शन गरेको छ । कम्पनीका अनुसार नयाँ मोडलमा प्रमाणविहीन दाबी करिब आधाले घटेका छन् भने कोडिङ वातावरणमा गम्भीर सुरक्षा तथा व्यवहारसम्बन्धी जोखिमका चेतावनी झन्डै ८० प्रतिशतले कम भएका छन् ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले सामाजिक सञ्जाल एक्समार्फत नयाँ मोडल सार्वजनिक भएको जानकारी दिएका छन् । कम्पनीले सुरुमा साइबर सुरक्षा विज्ञ र सीमित संस्थालाई यसको पहुँच दिनेछ। त्यसपछि ‘फेयरविन्ड प्रोग्राम’ मार्फत विश्वसनीय साझेदारलाई उपलब्ध गराउँदै डेभलपर, व्यावसायिक संस्था र सर्वसाधारणसम्म विस्तार गर्ने योजना बनाएको छ ।

नयाँ मोडलको मूल्य जेमिनाइ ४ आर्गनकै बराबर राखिएको छ । प्रति १० लाख इनपुट टोकनको मूल्य दुई अमेरिकी डलर र आउटपुट टोकनको मूल्य १० अमेरिकी डलर तोकिएको छ । क्यास गरिएका इनपुट टोकनमा भने ९५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?