काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
विज्ञापन अनुगमन कम्पनी एडइम्प्याक्टका अनुसार यस निर्वाचन चक्रमा विज्ञापन खर्च ११ अर्ब ६० करोड डलर पुग्ने अनुमान छ । त्यस्तै, काइनेटिक पोलिटिकल इनसाइट्सले ११ अर्ब ९६ करोड डलर खर्च हुने प्रक्षेपण गरेको छ। सन् २०२२ को मध्यावधि निर्वाचनमा यस्तो खर्च आठ अर्ब ९० करोड डलर थियो ।
प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । हाल रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । प्रतिनिधिसभाको नियन्त्रण लिन डेमोक्रेटले कम्तीमा तीन सिटको खुद लाभ हासिल गर्नुपर्नेछ ।
त्यस्तै, सिनेटका ३५ सिटका लागि पनि निर्वाचन हुँदैछ । हाल रिपब्लिकनसँग ५३ सिट छन् भने डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित विपक्षी पक्षसँग ४७ सिट छन् । सिनेटको नियन्त्रण लिन डेमोक्रेटले चार सिटको खुद लाभ लिनुपर्नेछ ।
मत सर्वेक्षणमा राष्ट्रिय स्तरमा डेमोक्रेटले अग्रता देखाएका छन् । पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटलाई ५३ प्रतिशत र रिपब्लिकनलाई ४१ प्रतिशत समर्थन प्राप्त भएको थियो । ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशतसम्म देखिएको छ ।
एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशत अमेरिकीले ट्रम्पका नीतिले अर्थतन्त्रलाई हानि पुर्याएको बताएका थिए भने २६ प्रतिशतले ती नीतिले सहयोग गरेको बताएका थिए । अर्थतन्त्र र राष्ट्रपतिको लोकप्रियतासम्बन्धी जनधारणा निर्वाचनको परिणाममा प्रभाव पार्न सक्ने प्रमुख विषयका रूपमा देखिएका छन् ।
यस वर्ष कङ्ग्रेसका प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए। प्रतिनिधिसभाका ४४ प्रतिस्पर्धामा सन् २०२४ का प्रमुख दलका उम्मेदवार पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । राज्य तथा स्थानीय निर्वाचनसमेत जोड्दा देशभर यस्ता पुनः प्रतिस्पर्धाको सङ्ख्या ४७४ पुगेको छ । क्यालिफोर्नियाको गभर्नर पदको प्रारम्भिक निर्वाचनमा मात्रै विज्ञापनमा ३३ करोड डलर खर्च भएको थियो ।
मध्यावधि निर्वाचनको परिणामले कङ्ग्रेसमा शक्ति सन्तुलन परिवर्तन गर्न सक्नेछ । प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनमा डेमोक्रेटले नियन्त्रण हासिल गरेमा ट्रम्प प्रशासनका नीति तथा विधेयक अघि बढाउने प्रक्रियामा चुनौती थपिन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया