चीनको भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

लोकपथ
21
Shares
पूर्वराष्ट्रपति भण्डारी – स्वदेश फिर्ता काठमाडौँ, ९ कात्तिक : चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भई स्वदेश फर्कनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण मुख्य विषय रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिएको थियो । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएकी छन् ।

एमाले वरिष्ठ नेता समेत रहेकी भण्डारीले स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो । उक्त सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि भएको थियो ।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’ का मुलुकको भूमिकालगायत विषयमा छलफल भएको थियो ।

सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित अर्थतन्त्र तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायत विषयमा पनि बहस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?