काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका विभिन्न समितिमा २४ वटा विधेयक छलफलका क्रममा छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबैभन्दा धेरै पाँचवटा विधेयक विचाराधीन छन् । त्यस्तै, अर्थ समितिमा चारवटा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीनवटा विधेयक छन् ।
यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्यव्यवस्था तथा सुशासन समितिमा दुई–दुईवटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रियसभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाउन बाँकी एउटा विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रियसभामा प्रस्तुत हुन बाँकी रहेको उनले बताए ।
प्रतिनिधिसभाका समितिमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक र खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायत छलफलमा छन् ।
सात नयाँ विधेयक दर्ता
संसद्मा नयाँ दर्ता भएका विधेयकको संख्या सात पुगेको छ । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो। त्यसपछि थप छवटा विधेयक दर्ता भएका हुन् ।
नयाँ दर्ता भएका विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए ।
दुई विधेयकको प्रतिवेदन तयार
संसद्मा प्रस्तुत भएर छलफल हुन बाँकी एउटा विधेयक पनि रहेको छ । डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए ।
त्यस्तै, समितिमा छलफल भई प्रतिवेदन तयार भएका दुईवटा विधेयक छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन समितिले सभामा पेस गरिसकेको छ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको प्रतिवेदन भने तयार भएर संसद् सचिवालयमा पुगेको छ ।
सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकको संख्या १२ पुगेको छ । त्यस्तै, संसद्मा प्रस्तुत भएका छवटा सन्धि तथा महासन्धि पनि पारित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया