झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह

लोकपथ
28
Shares

झापा । चाडपर्वका बेला जंगली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा सचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा सतर्कता बढाएको छ । सर्वसाधारण नागरिक दसैँलगायत चाडपर्वको उल्लासमा व्यस्त रहेका बेला हुनसक्ने मानवीय र भौतिक क्षतिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले हात्ती प्रभावित क्षेत्रमा निगरानी र निरन्तर गस्ती बढाएको हो ।

चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान बेलुका झिसमिसे तथा रातको समयमा जंगली हात्तीसँग जम्काभेट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले गाउँ गाउँमा पुगेर माइकिङमार्फत नागरिकलाई सचेत गराइरहेको छ । टोलीले अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

पाकेको धानबाली जोगाउने चिन्तासँगै जंगली हात्तीको जोखिम सामना गरिरहेका झापावासीलाई हात्तीसँग जम्काभेट भएमा नआत्तिन, हात्तीलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न तथा सुरक्षित स्थानतर्फ जान सशस्त्र प्रहरीले अनुरोध गरेको छ । साथै गाउँमा रहेका बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ख्याल गर्न र उनीहरूलाई घरबाहिर एक्लै हिँडडुल गर्न नदिनसमेत आग्रह गरिएको छ ।

हात्तीको आवतजावत र सम्भावित जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती टोली परिचालन गरी निरन्तर निगरानी भइरहेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका गणपति एसपी सचिन कर्मचार्यका अनुसार हात्तीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सुरक्षा निगरानीसँगै स्थानीय बासिन्दालाई सचेत गराउने कार्यलाई निरन्तरता दिइएको छ । सशस्त्र प्रहरीले आफ्नो घर, गोठ तथा आँगन वरपर हात्तीले मन पराउने खालका खानेकुरा नराख्न वा त्यस्ता बोटबिरुवाहरू सकेसम्म नरोप्न, रातको समयमा घर आसपास उज्यालोको व्यवस्था गर्न तथा बाक्लो झाडी सफा राख्नसमेत अनुरोध गरेको छ ।

हात्ती प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीले उपलब्ध स्रोतसाधन परिचालन गर्दै स्थानीय प्रशासन, सम्बन्धित निकाय तथा सर्वसाधारणसँग समन्वय र सहकार्य गरी हात्तीको निगरानी, सूचना आदानप्रदान र जनचेतनामूलक गतिविधिलाई प्रभावकारी बनाइरहेको बताएको छ ।

सशस्त्र प्रहरीले हात्ती गाउँमा प्रवेश गरेको देखेमा वा कुनै समस्या परेमा तत्काल सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको सम्पर्क नम्बर ९८५१२७२१२५ मा जानकारी गराउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?