काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ ।
भोलि सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका लागि मुक्तिनाथ विकास बैंक र जनकपुर बोल्ट्सबीच साझेदारी सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यो सहकार्य जर्सीमा बैंकको लोगो राख्ने विषयमा मात्र सीमित नभएको बताएका छन् । उनका अनुसार साझेदारीमार्फत क्रिकेटका माध्यमबाट समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा सहयोग गर्ने बैंकको प्रतिबद्धता रहेको छ ।
एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक टी–२० मान्यता दिएको छ । यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन् ।
यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्याङ्कमा आधारित खेल जीवनको अभिलेख निर्माण गर्न थप अवसर मिल्ने जनाइएको छ ।
जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा खुसी लागेको बताए ।
ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले खेलकुदमार्फत समुदायसँग जोडिने तथा नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने अवसरका रूपमा साझेदारीलाई लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया