जलवायु न्यायका लागि विश्व समुदायले गम्भीर हुनुपर्छ : विद्या भण्डारी

लोकपथ
14
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा जलवायु परिवर्तनका कारण देखिएका प्राकृतिक विपद्लाई गम्भीर रूपमा लिन विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले पाउनुपर्ने न्याय र सहयोग सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।

चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजले आयोजना गरेको सम्मेलनमा उनले जलवायु परिवर्तनले नेपालजस्ता जोखिममा रहेका देशलाई बढी असर गरिरहेको बताइन् ।

भण्डारीले हिमालय क्षेत्र जलचक्र, जैविक विविधता र वातावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । हिमालको संरक्षण र जलवायु परिवर्तनको असर कम गर्न नेपाल, चीन, भारतलगायत हिमाली देशबीच सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको निगरानी, विपद्को पूर्वसूचना र विपद् व्यवस्थापनमा सहकार्य गर्नुपर्नेमा जोड दिइन् । जलवायु जोखिम कम गर्न संयुक्त राष्ट्रसङ्घ र अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन तथा भरपर्दो सहयोग आवश्यक रहेको पनि उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले विश्वमा शक्ति प्रयोगभन्दा अन्तरराष्ट्रिय कानुनका आधारमा देशहरूबीच सम्बन्ध सञ्चालन हुनुपर्ने बताइन् । सबै देशको आवाजको सम्मान गर्दै कमजोर र जोखिममा रहेका मुलुकका समस्यालाई पनि उचित स्थान दिनुपर्ने उनको भनाइ थियो । यसका लागि संयुक्त राष्ट्रसङ्घलाई अझ प्रभावकारी बनाउनुपर्ने उनले उल्लेख गरिन् ।

उनले शान्ति र विकास एकअर्काका परिपूरक भएको बताउँदै गरिबी र भोकमरी अन्त्य, शिक्षा तथा स्वास्थ्यको गुणस्तर सुधार, रोजगारी सिर्जना, सामाजिक न्याय र वातावरण संरक्षणलाई अन्तरराष्ट्रिय सहकार्यको प्राथमिकता बनाउनुपर्ने बताइन् ।

हतियारमा खर्च हुने स्रोतसाधनलाई विकास र मानव कल्याणमा लगाउनुपर्नेमा पनि उनले जोड दिइन् । समावेशी, वातावरणमैत्री र विपद्को सामना गर्न सक्ने विकासका लागि सबै देश मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

भण्डारीले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सांस्कृतिक आदानप्रदान, बौद्ध दर्शन र जनस्तरको सम्बन्ध रहँदै आएको बताइन् । विश्वका साझा चुनौती समाधान गर्न कुनै एक देशको प्रयास पर्याप्त नहुने भन्दै उनले संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरिन् ।

उनले संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तरराष्ट्रिय कानुन र बहुपक्षीय सहकार्यमा आधारित विश्वव्यवस्थाले शान्ति, सुरक्षा र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै सम्मेलनले विश्वशान्ति, दिगो विकास र साझा समृद्धिका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?