नबिल बैंकले ल्यायो भर्चुअल क्रेडिट कार्ड, एनबैंक एपबाटै आवेदन दिन सकिने

लोकपथ
42
Shares

काठमाडौं । नबिल बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा थप सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरूले बैंकको एनबैंक मोबाइल एपमार्फत नै भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन र प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार ग्राहकहरूले एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाई नाउ’ विकल्पमार्फत कार्डका लागि आवेदन दिन सक्नेछन् । यसका लागि परम्परागत क्रेडिट कार्डमा जस्तै कागजी प्रक्रिया र अन्य औपचारिकता पूरा गर्नुपर्ने झन्झट कम हुने बैंकले जनाएको छ ।

पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो कार्डमार्फत ग्राहकहरूले दैनिक डिजिटल कारोबार सहज र सुरक्षित रूपमा गर्न सक्नेछन् । साथै, फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा समेत यस कार्डको प्रयोग गरी भुक्तानी गर्न सकिनेछ ।

बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहकहरू पहिचान गरी पूर्वस्वीकृति प्रदान गरेको जनाएको छ । पूर्वस्वीकृत भएका ग्राहकले एनबैंक एपको होमपेजमा ‘अप्लाई नाउ’ विकल्प स्वचालित रूपमा देख्न सक्नेछन् ।

यस सेवाको सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यले भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआरमा आधारित भुक्तानीलाई सहज बनाउने बैंकको अपेक्षा छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नवप्रवर्तन र ग्राहककेन्द्रित बैंकिङ सेवाप्रति बैंक प्रतिबद्ध रहेको बताए ।

उनले भर्चुअल क्रेडिट कार्डको सुरुवातले बैंकको डिजिटल रूपान्तरणलाई तीव्रता दिनुका साथै ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार आधुनिक वित्तीय सेवा उपलब्ध गराउने प्रयासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?