कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँ : डा. फिर्दोस आलम

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा.मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका हुन् ।

उनले नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टी र देशको आवश्यकता बुझ्ने सक्षम तथा गतिशील नेतृत्व भएको बताए । थापाले सबैलाई समेटेर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे ।

डा। आलमले मुलुकमा सङ्कट उत्पन्न हुँदा नेपाली कांग्रेसले सधैँ नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । आगामी दिनमा पनि पार्टीले आफ्नो ऐतिहासिक पहिचान कायम राख्दै विगतमा नेतृत्व तहबाट भएका कमी–कमजोरी सुधार गरेर अघि बढ्ने उनको भनाइ छ ।

उनले पार्टी कार्यालय सानेपा सबै कांग्रेसजनको साझा थलो भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।

‘मुलुकको इतिहासमा जब–जब सङ्कट परेको छ, तब यो देशलाई सम्हालेकै नेपाली कांग्रेसले हो । कांग्रेसले जुन संस्कृति बसालेको छ र आफ्नो पहिचान बनाएको छ, त्यसलाई निरन्तरता दिँदै भएका कमी–कमजोरी सुधार गरेर अघि बढ्छौँ,’ उनले भने ।

उनले आगामी दिनमा पनि जनताले नेपाली कांग्रेसलाई माया गर्ने विश्वास व्यक्त गरे । पार्टीभित्र सबैलाई समेटेर अघि बढ्न सके कांग्रेस थप बलियो बन्ने उनको भनाइ छ ।

यसैगरी, डा। आलमले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन नेपाली कांग्रेसले निरन्तर खबरदारी गर्ने बताए । जनताका अपेक्षाअनुसार काम गर्न सरकारलाई प्रेरित गर्नु र सरकारका कमजोरी औँल्याउनु कांग्रेसको प्रमुख जिम्मेवारी रहेको उनले उल्लेख गरे ।

उनले चाडपर्वका बेला सरकारले महँगी नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए । वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि ती अपेक्षाअनुसार काम हुन नसकेको उनको टिप्पणी छ ।

सरकारले जनताको चाहनाअनुसार काम गर्नुपर्ने र जनताले भोगिरहेका समस्याको समाधानमा ध्यान दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?