कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, थारूतर्फ योगेन्द्र अगाडि

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । यस्तै, मुस्लिम खुला तथा महिला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ। थारूतर्फ भने सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।

मुस्लिमतर्फ सहमहामन्त्रीमा निर्वाचित आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरेका छन् ।

मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन् । त्यस्तै, मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन विजयी भएका छन् ।

थारूतर्फ योगेन्द्र चौधरीको अग्रता

थारूतर्फ सहमहामन्त्री पदको मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम गरेका छन् । निर्वाचन समितिका अनुसार ४ हजार ४६० मत गणना हुँदा योगेन्द्रले २ हजार २३८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १ हजार ३१५ मत प्राप्त गरेका छन् । योगेन्द्र तेजुलालभन्दा ९२३ मतले अगाडि छन् । अर्का उम्मेदवार सुरेन्द्र चौधरीले ९४० मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेकाले सहमहामन्त्री पदको अन्तिम परिणाम आउन बाँकी छ ।

थारू खुला केन्द्रीय सदस्यमा भोगेन्द्र अगाडि

थारू क्लस्टरअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा डा. भोगेन्द्रप्रसाद चौधरीले अग्रता लिएका छन्। उनले २ हजार २९९ मत प्राप्त गरेका छन् ।

वेदनारायण गच्छदार २ हजार १०९ मतसहित दोस्रो स्थानमा छन् । जनकराज चौधरीले २ हजार ६० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा साजनकुमार महतोले १ हजार ५६७ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारमध्ये गोपाल पञ्जियार थारूले १ हजार ४६६, रामकृष्ण चौधरीले १ हजार ३८८, छविलाल थारूले १ हजार २३६ र महेशप्रसाद चौधरीले १ हजार १३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राजसमज चौधरीले १ हजार ४१ र प्रभातकुमार चौधरीले ७३६ मत पाएका छन् ।

थारू खुला केन्द्रीय सदस्यतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि निर्वाचित हुने उम्मेदवारको टुंगो लाग्नेछ ।

थारू महिला केन्द्रीय सदस्यमा जीवन राना अगाडि

थारू महिला केन्द्रीय सदस्य पदको मतगणनामा डा. जीवन रानाले अग्रता कायम गरेकी छन्। उनले २ हजार ८५७ मत प्राप्त गरेकी छन् ।

उनकी निकटतम प्रतिस्पर्धी डा. प्रमिला कुमारी गच्छदारले २ हजार ५५२ मत प्राप्त गरेकी छन् । उनीहरूबीच ३०५ मतको अन्तर छ।

अन्य उम्मेदवारमध्ये सुनिताकुमारी रानाले ७८३, कल्पना चौधरीले ७४०, नवोदिता चौधरीले ५८८, सुशीला चौधरीले ५२७ र नमिताकुमारी चौधरीले ४७२ मत प्राप्त गरेकी छन् ।

थारू महिला केन्द्रीय सदस्यतर्फ दुई जना निर्वाचित हुनेछन् । हालको मतगणनामा जीवन राना र प्रमिला कुमारी गच्छदार अगाडि छन्। तर, अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पद तथा क्लस्टरको मतगणना जारी छ। निर्वाचन समितिले आजै सबै परिणाम सार्वजनिक गर्ने लक्ष्यसहित मतगणना अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?