काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् ।
काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल आसपासका क्षेत्रमा चङ्गा व्यापार बढेको छ । पसल र सडकपेटीमा विभिन्न आकार र रङका चङ्गा, बाँस तथा काठका लट्टाई र धागाका रिल सजाएर राखिएका छन् । दशैँको समयमा चङ्गा उडाउने पुरानो परम्परालाई निरन्तरता दिन बालबालिकादेखि युवासम्म चङ्गा किन्न बजार पुगिरहेका छन् ।
पहिले हातैले धागो बेरेर लट्टाई तयार पार्ने गरिए पनि अहिले बजारमा विद्युतीय मेसिनको प्रयोग बढेको छ । सडक किनारमै राखिएका स्पुलिङ मेसिनबाट छोटो समयमा धागा लट्टाई र चक्कामा बेर्ने गरिएको छ । ग्राहकको माग बढेसँगै व्यापारीहरूलाई चङ्गा र माँझा तयार गर्न भ्याइनभ्याइ भएको छ ।
परम्परागतदेखि आधुनिक चङ्गासम्म
बजारमा परम्परागत कागजी चङ्गासँगै विभिन्न डिजाइनका चङ्गा पनि उपलब्ध छन् । रातो पृष्ठभूमिमा पहेँलो सूर्य भएको चङ्गादेखि नेपालको राष्ट्रिय झण्डामा रहेका चन्द्र र सूर्य अंकित चङ्गासम्म ग्राहकको रोजाइमा छन् ।
त्यस्तै, बालबालिकालाई लक्षित गरी डोरेमोन, चील तथा चम्किला मेटालिक प्लास्टिकका चङ्गा पनि बजारमा राखिएका छन् । विभिन्न डिजाइन र रङका चङ्गाले बजारमा थप आकर्षण बढाएका छन् ।
चङ्गासँगै जोडिएको पुस्तान्तरणको खुसी
चङ्गा किन्ने बजारमा अभिभावक आफ्ना छोराछोरीसँगै पुग्ने गरेका छन् । बालबालिकाले आफूलाई मन पर्ने रङ र डिजाइनका चङ्गा छान्ने गरेका छन् भने अभिभावकले उनीहरूका लागि लट्टाई र धागा किनिदिने गरेका छन् ।
दशैँमा चङ्गा उडाउने चलन मनोरञ्जनमा मात्र सीमित छैन । यसले परिवारका सदस्यलाई एकै ठाउँमा जुटाउने र नयाँ पुस्तालाई पुरानो संस्कृतिसँग जोड्ने अवसरसमेत प्रदान गर्छ ।
मोबाइल र डिजिटल मनोरञ्जनको बढ्दो प्रयोगका बीच खुला आकाशमा चङ्गा उडाउन पाउनु बालबालिका र युवाका लागि विशेष अनुभव बनेको छ । दशैँसँगै उपत्यकाको आकाशमा देखिने रङ्गीबिरङ्गी चङ्गा र बजारको चहलपहलले चाडपर्वको उमङ्गलाई थप जीवन्त बनाएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया