काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।
विपद् आइपर्दा कुनै व्यक्ति विशेषको सक्रियता वा निर्णयमा निर्भर नभई आवश्यकताअनुसार प्रणाली स्वतः परिचालित हुने संयन्त्र विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियानको सुरुवात गर्दै मन्त्री श्रेष्ठले विपद्सम्बन्धी नीति निर्माण वैज्ञानिक तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताए । विपद्का बदलिँदा स्वरूप र जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी, प्रभावकारी अनुगमन र आवश्यक स्रोतसाधनको व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
उनले विपद् आउनुअघिको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । सरकारले दृश्यमा आधारित (भिजुअल) अनुगमन प्रणाली विकास गरे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै उनले उपलब्ध तथ्याङ्कको आदानप्रदान र कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट सम्भावित जोखिम तथा विपद्का घटनाको ढाँचा पहिचान गर्न सकिने बताए ।
नेपालमा विपद्का प्रकृति फरक–फरक रहेकाले जोखिमअनुसार छुट्टाछुट्टै पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिए । नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा रहेको उल्लेख गर्दै उनले सक्रिय फल्ट लाइनका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययन तथा अनुसन्धानका निष्कर्षलाई नीतिनिर्माणसँग जोड्नुपर्ने बताए ।
बाढीको बदलिँदो प्रकृतिप्रति पनि सचेत हुनुपर्ने उनको भनाइ छ । मनसुनी प्रणाली तथा बंगालको खाडीबाट आउने मौसमी प्रणालीका कारण हुने बाढी र हिमताल फुट्ने, पहिरोका कारण नदी थुनिने वा अन्य अवरोध फुटेर अचानक ठूलो बहाव आउने बाढीको प्रकृति फरक हुने उनले बताए ।
मन्त्री श्रेष्ठले भने, ‘यी फरक प्रकृतिका विपद्का लागि फरक किसिमको पूर्वतयारी आवश्यक हुन्छ । त्यसैले विपद्को प्रकृतिअनुसार राहत, उद्धार र व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरणको पूर्वतयारी गर्नुपर्छ ।’
उनले माथिल्लो तटीय क्षेत्रमा पानी थुनिने वा अन्य कारणले नदीको बहावमा परिवर्तन आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिमको पूर्वानुमान र निगरानी प्रणाली बलियो बनाउनुपर्ने बताए ।
विपद्पछिको उद्धार र राहतसँगै पूर्वतयारी, प्रभावकारी अनुगमन, आवश्यक उपकरणको व्यवस्थापन र प्रभावितको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।
विपद्का कारण धेरै परिवारमा मानसिक आघात पर्ने गरेको उल्लेख गर्दै उनले बालबालिकामा डर र त्रास देखिने तथा प्रभावित व्यक्तिमा पोस्ट ट्रमासम्बन्धी समस्या उत्पन्न हुन सक्ने बताए । त्यसैले विपद् व्यवस्थापनको समग्र कार्यढाँचामा मानसिक स्वास्थ्यलाई समेत समेट्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, आगामी दिनमा भौतिक पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य र अनुसन्धानका निष्कर्षसँगै परम्परागत तथा रैथाने ज्ञानलाई पनि समेट्नुपर्ने उनले बताए ।
वैज्ञानिक अध्ययन, प्रभावकारी अनुगमन, आवश्यक स्रोतसाधनको पूर्वतयारी, मानसिक स्वास्थ्यको संरक्षण र बलियो संस्थागत संयन्त्र निर्माण गर्न सके विपद्सँग जुध्ने नेपाली नागरिकको क्षमता थप सुदृढ हुने मन्त्री श्रेष्ठको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया