काठमाडौं । बडादशैँ नजिकिएसँगै काठमाडौंको नयाँ बसपार्कबाट घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन् ।
नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैँमा परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै बसपार्कमा भीडभाड देखिन थालेको हो ।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ यात्रु बाहिरिएका छन् ।
उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु काठमाडौं बाहिरिएका हुन् ।
यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा पनि समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा कठिनाइ भएको बताए ।
उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यात्रु व्यवस्थापनमा समस्या भएको उनले बताए ।
महासंघले यात्रुलाई टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडादर तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
दसैँ परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रमुख चाड भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू हरेक वर्ष चाडपर्व मनाउन आफ्नो गाउँघर फर्किने गर्छन् । यस वर्ष पनि दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया