सुर्खेत । दशैँ, तिहार र छठ पर्वलाई सुरक्षित बनाउन कर्णाली प्रदेशमा ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, झैझगडा, जुवातास र कालोबजारी नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ प्रदेशका १० वटै जिल्लामा असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।
प्रहरीले चाडपर्वका बेला हुने आपराधिक गतिविधि रोक्नुका साथै सडक दुर्घटना कम गर्ने र यात्रुको सुरक्षालाई प्राथमिकता दिएको छ । यसका लागि बजार, राजमार्ग, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र धार्मिक स्थलमा सुरक्षा निगरानी बढाइएको छ ।
प्रहरीका अनुसार मोबाइल तथा मोटरसाइकल गस्तीमा ३४१ जना, पैदल तथा ग्रामीण गस्तीमा ६५४ जना र पिकेट तथा चेकजाँचमा ५६९ जना प्रहरी खटाइएको छ । त्यस्तै, महत्त्वपूर्ण प्रतिष्ठान, बैंक तथा बजारको सुरक्षामा ३२२ जना र कार्यालय सुरक्षा तथा अन्य जिम्मेवारीमा ३ हजार २९७ जना प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वमा धेरै मानिस घर फर्किने र बजारमा किनमेल गर्नेको भीड बढ्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । घर तथा पसल लामो समय बन्द रहने हुँदा चोरी र लुटपाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर बजार, राजमार्ग र सुनचाँदी पसललगायत क्षेत्रमा विशेष निगरानी गरिनेछ ।
आवश्यकता परे थप प्रहरी टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया