काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनताको समस्यामा केन्द्रित हुने बताएकी छन् । उनले १५औँ महाधिवेशनपछि पार्टीलाई एकताबद्ध र बलियो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले आगामी निर्वाचनमा जनताको विश्वास जित्न संगठनलाई केन्द्रदेखि गाउँसम्म सक्रिय बनाउनुपर्ने बताइन् ।
उनले विगतका निर्वाचनमा अपेक्षाअनुसार नतिजा आउन नसक्नुमा संगठन परिचालनको कमजोरी, समय अभाव र पार्टीभित्रको गुटबन्दी मुख्य कारण रहेको बताइन् । अब यस्ता कमजोरी सुधार गर्दै उम्मेदवारसँगै सिंगो पार्टी संगठन निर्वाचनमा सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
भुसालले सुशासन, आर्थिक विकास, जनजीविका र राष्ट्रिय राजनीतिका विषयमा कांग्रेसले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने बताइन् । लोकतान्त्रिक मूल्य–मान्यता र संविधानवादको रक्षा गर्दै जनताका समस्या समाधानमा पार्टीले काम गर्नुपर्ने उनले उल्लेख गरिन् ।
विशेष महाधिवेशनपछि देखिएको कानुनी विवाद समाधान भएको दाबी गर्दै भुसालले महाधिवेशनमा सहभागी नभएका तथा असहमति राख्ने नेताहरूलाई पनि समेटेर अघि बढ्नुपर्ने बताइन् ।
पार्टीका वरिष्ठ तथा बौद्धिक नेताहरूको व्यवस्थापनबारे उनले सबैको अनुभव, क्षमता र योगदानको सम्मान गरिने स्पष्ट पारिन् । अहिले जिम्मेवारीमा पुग्न नसकेका नेताहरूलाई पनि उचित अवसर दिँदै पार्टीलाई बलियो बनाउने उनको भनाइ छ ।
भुसालले आगामी निर्वाचनमा जनताको विश्वास जित्ने नेतृत्व छनोट गर्ने र राष्ट्रिय आर्थिक मुद्दामा स्पष्ट नीति बनाएर अघि बढ्ने बताइन् । पार्टीभित्र एकता कायम गर्दै जनसरोकारका विषयलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया