नबिल बैंकले १५.८० प्रतिशत लाभांश दिने

लोकपथ
0
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको बिहीबार सम्पन्न ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाले अनुमोदन गरेको हो ।

भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको साधारणसभा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।

५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ ।

बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप ६९ अर्ब ६७ करोड रुपैयाँले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १३.०६ प्रतिशत वृद्धि हो ।

त्यस्तै, बैंकको कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। कर्जा तथा सापटी १२.१५ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

बैंकको कुल वासलात पनि १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकिङ सेवालाई आधुनिक र विस्तार गर्दै लगिएको बताए । उनले शेयरधनी, ग्राहक, कर्मचारी र नियामक निकायसहित सबै सरोकारवालाको हितलाई ध्यानमा राखेर बैंकले काम गरिरहेको बताए ।

साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकका अनुसार स्थापना हुँदाको तुलनामा हाल यसको चुक्ता पुँजी ९६० गुणाले बढेको छ । बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिइरहेको छ। बैंकका ग्राहक संख्या २८ लाखभन्दा बढी रहेको जनाएको छ ।

पछिल्लो समय डिजिटल बैंकिङलाई प्राथमिकता दिएको नबिल बैंकले ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ । बैंकले सन् २०३० सम्म ‘एआई रेडी’ बैंक बन्ने लक्ष्य पनि अघि सारेको छ ।

त्यसैगरी, बैंकले आफ्नो भिजन र मिसन परिमार्जन गर्दै ट्रस्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफर्मेसनलाई आधार बनाएर अघि बढ्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?