काठमाडौं । सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
बिहीवार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
मन्त्री पोखरेलले अध्ययन बिदा लिएर विश्वविद्यालय नफर्किएका प्राध्यापकबाट असुल गर्नुपर्ने भत्ता तथा जरिवाना असुलीलाई तीव्रता दिन निर्देशन दिए । साथै, लामो समयदेखि सम्पर्कमा नआएका र कारबाही प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको विवरण तयार गरी थप कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० तथा सम्बन्धित निकायमा पठाउन निर्देशन दिए ।
उनले एक महिनाभित्र सम्पर्कमा नआउने प्राध्यापकका सम्बन्धमा प्रतिवेदन तयार गरी सीआईबी वा सम्बन्धित निकायमा पठाउनुपर्ने बताए ।
‘अध्ययन बिदाको दुरुपयोग गरेर विश्वविद्यालय फर्किनु नभएका प्राध्यापक अथवा सम्पर्कमा नहुनुभएका प्राध्यापकहरूको भत्ता रिकभर गर्ने कामलाई तीव्रता दिऊँ । जरिवाना तिराउने र जो सम्पर्कमै आउनुभएको छैन, जसले प्रक्रियामा सहयोग गर्नुभएको छैन, उहाँहरूलाई थप कारबाहीका लागि सीआईबी तथा सम्बन्धित निकायमा लेखी पठाउने प्रतिवेदन तयार गरौँ,’ उनले भने ।
मन्त्री पोखरेलले त्यस्ता प्राध्यापकलाई सम्पर्कमा आउन एक महिनाको समयसीमा तोकेर त्यसपछि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
यसैगरी, उनले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई पनि प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन् । विश्वविद्यालयभित्र अतिक्रमण भएका जग्गाको पहिचान गरी फिर्ता ल्याउने प्रक्रिया तीव्र बनाउन उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया