ठेगाना सोध्दै लुटपाट, सवारी फेर्दै फरार : ‘माझी गिरोह’ प्रहरीको फन्दामा

लोकपथ
385
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘माझी गिरोह’का मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुराकीका आधारमा सञ्चालन गरेको अप्रेसनका क्रममा गिरोहका मुख्य नाइके सिन्धुली मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्दै आएका २४ वर्षीय आयन माझीसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन् । उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा आयन माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा उक्त समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहान तथा रातिको समयमा एक्लै हिँड्ने सर्वसाधारणलाई निशाना बनाउने गरेको खुलेको छ । उनीहरूले ठेगाना सोध्ने बहानामा महिला तथा पुरुषलाई नियन्त्रणमा लिएर सिक्रीलगायतका गरगहना लुट्ने र फरार हुने क्रममा पटक–पटक सवारीसाधन परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो समूहले हालसम्म १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरिसकेको र उपत्यकाका विभिन्न स्थानमा भएका २७ भन्दा बढी लुटपाटका घटनामा संलग्न रहेको पाइएको छ ।

मुख्य अभियुक्त माझी यसअघि पनि डाँका तथा चोरी मुद्दामा पक्राउ परी कारागार बसेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको खुलेको छ ।

पक्राउ परेकाहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र धारिलो हतियार ९खुकुरी० बरामद गरिएको एसएसपी घिमिरेले बताए ।

प्रहरीले गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाएको छ भने पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?