काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा। गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थिति थियो ।
सम्झौतापछि बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष वैद्यले सातै प्रदेशमा र क्रमशः अन्य क्षेत्रमा समेत व्यवसायीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए । यस्ता कार्यक्रमबाट उद्योगी–व्यवसायीको वित्तीय ज्ञान बढ्नुका साथै वित्तीय अनुपालना कायम गर्नसमेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी–व्यवसायीलाई वित्तीय विवरण तयार गर्न तथा वित्तीय अनुपालना कायम गर्न आवश्यक तालिम सञ्चालन गरिने बताए । त्यसका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने उनले जानकारी दिए ।
बैंकले ‘फ्युचर रेडी’ अवधारणाअनुसार सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरण र व्यवसाय विस्तारमा जोड दिँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया