हुम्लामा अचानक वर्षा र हिमपात, जनजीवन प्रभावित

लोकपथ
49
Shares

हुम्ला । अचानक वर्षा र हिमपात सुरु भएपछि हुम्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको सर्केगाड–१ जैरका दीपक कार्कीले बताए ।

उनका अनुसार जैर क्षेत्रमा सुक्खा पहिरो आइरहने भएकाले वर्षाका कारण सडक पूर्णरूपमा अवरुद्ध हुने समस्या देखिएको छ । निरन्तर वर्षा भइरहेकाले ग्रामीण सडकमा आवतजावत थप जोखिमपूर्ण बनेको उनले बताए ।

वर्षाका कारण पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारीलगायतका बालीमा समेत क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

यस्तै, वर्षा र हिमपातका कारण पशुचौपायासमेत प्रभावित भएका छन् । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?