काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा भएका छन् ।
उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत रहेका थिए ।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए । उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध रहेका छन् ।
आफ्नो लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) को जिम्मेवारीमा कार्यरत रहेका थिए ।
यसका साथै, अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको भूमिकासमेत सम्हाल्दै आएका छन् ।
उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन् ।
अकेलाको लामो अनुभव, जोखिम व्यवस्थापन तथा समग्र कार्यसञ्चालन दक्षताले आगामी दिनमा बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया