शिद्धार्थ बनस्थलीका शिक्षक श्यामकृष्ण, विद्यार्थी गगन : अब सभापतिमा प्रतिष्पर्धा !

लोकपथ
266
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबार साँझ नै सार्वजनिक गर्नुपर्ने मतदाता नामावली अर्थात् महाधिवेशन प्रतिनिधिका नामावली मंगलबार बिहान मात्र सार्वजनिक गरिएको छ ।

अब बाँकी प्रक्रियाहरुपछि कांग्रेस १५औँ महाधिवेशनको महत्वपूर्ण चरण अर्थात् मतदान प्रक्रियामा जानेछ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिमध्ये बहुसंख्यकले गगन थापा नै सभापतिमा आउनुपर्ने बताइरहँदा सभापतिका लागि अर्का आकांक्षी समेत देखिएका छन् । उनी हुन् काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि बनेका श्यामकृष्ण खड्गी ।

सोमबार साँझ खड्गीले कांग्रेसको महाधिवेशनस्थल खुला मञ्चबाट आफू सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गरे । साथै आफ्नो ४ दशक लामो राजनीतिक यात्रामा अब केन्द्रीय सभापतिका लागि दाबी रहने उनले बताए ।

रोचक त के छ भने गगन थापा र श्यामकृष्ण खड्गी कुनै बेलाका एकै स्कुलका विद्यार्थी र शिक्षक हुन् । बालाजुको शिद्धार्थ बनस्थली स्कुलमा गगन थापा विद्यार्थी रहँदा श्यामकृष्णले सोही विद्यालयमा पढाए । गणीत शिक्षकका रुपमा खड्गी त्यहाँ पढाउन जाँदा गगन सोही विद्यालयमा कक्षा १० मा पढ्ने गर्दथे ।

२०४८ सालमा गगन शिद्धार्थ बनस्थलीमा कक्षा १० मा पढ्दा श्यामकृष्ण म्याथ टिचरका रुपमा त्यहाँ पढाउन पुगेका थिए । उनले केही समय त्यहाँ पढाए, जहाँ पछि मात्र आफूले गगन थापालाई पढाएको थाहा पाएको खड्गीले लोकपथसँग बताए ।

‘उहाँ जुन साल उहाँ (गगन थापा) कक्षा १० मा पढ्दै हुनुहुन्थ्यो । त्यही साल म बनस्थलीमा टिचरको रुपमा प्रवेश गरेको थिएँ । २०४८ सालमा म एक्स्ट्रा शिक्षकको रुपमा त्यहाँ जाँदा उहाँ पनि कक्षा १० मा पढ्नुहुन्थ्यो । त्यसबेला धेरै विद्यार्थी हुने कारणले मैले याद गरिन् । पछि उहाँ राजनीतिमा लागिसकेपछि बल्ल मैले पनि कुनै समय उहाँ (गगन थापा) लाई पढाएको रहेछु भन्ने थाहा पाएँ,’ खड्गीले लोकपथसँग भने ।

खड्गी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा काम गरेका नेता हुन् । काठमाडौं क्षेत्र नं ६ मा दुई कार्यकाल क्षेत्रीय सभापति बनेर काम गरिसकेका खड्गी २०५७ सालमा नै कांग्रेसको १०औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका थिए । काठमाडौं क्षेत्र नं ६ मा क्षेत्रीय सभापति बन्नुअघि उनले नेपाली कांग्रेस काठमाडौंको सहसचिव बनेर काम समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?