काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) उच्च ब्याजदर र सरकारी निकायबाट उठ्न बाँकी रकमका कारण आर्थिक संकटमा परेको छ ।
सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आम्दानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै खर्च भइरहेको बताए । उनले निगमको आर्थिक अवस्था सुधार गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए ।
कालाखेतीका अनुसार नेपाल सरकारले विभिन्न उडान तथा चार्टर सेवाबापत निगमलाई १३ करोड ७५ लाख रुपैयाँ तिर्न बाँकी छ। यो रकममध्ये राष्ट्र प्रमुखको विदेश भ्रमणबापत ४ करोड २७ लाख, कोभिडकालमा औषधि ढुवानीबापत १ करोड ५४ लाख, पाकिस्तान बाढी उद्धार उडानबापत १ करोड १४ लाख र इजरायल उद्धार उडानबापत ५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
सरकारलाई पटक–पटक पत्राचार गर्दा पनि रकम भुक्तानी नभएपछि निगमको नगद प्रवाहमा समस्या परेको उनले बताए ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमा क्रमशः ९.२५ प्रतिशत र १०.५ प्रतिशत ब्याज तिर्दै आएको छ । उच्च ब्याजदरका कारण निगमको वित्तीय भार बढेको कालाखेतीको भनाइ छ ।
उनका अनुसार निजी बैंकहरूले कम ब्याजदरमा ऋण दिने प्रस्ताव गरे पनि सञ्चय कोषको ऋण चुक्ता नगरेसम्म अन्य वित्तीय संस्थाबाट ऋण लिन नपाउने सर्तका कारण निगमले महँगो ब्याज तिर्नुपरेको छ ।
कालाखेतीले ऋण पुनर्संरचना, ब्याजदर घटाउने, सरकारबाट लिन बाँकी रकम तत्काल भुक्तानी गर्ने र व्यवस्थापन सुधार गर्न सके निगमलाई नाफामा लैजान सकिने बताए ।
विगतमा निगम सुधारका लागि गठन भएका विभिन्न अध्ययन समितिले दिएका सुझाव कार्यान्वयन नहुँदा पनि समस्या थपिएको उनले बताए । निर्णय गर्ने तहमा रहेकाहरूले नै पछि ती सुझाव कार्यान्वयनमा चासो नदिँदा निगम सुधारको प्रक्रिया जटिल बनेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया