गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

लोकपथ
0
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले कांग्रेसलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको बताए ।

पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता उठिरहेको भन्दै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एकताबद्ध गर्नु आफ्नो प्राथमिकता हुने बताए ।

पाण्डेले आफूले कांग्रेसको केन्द्रीय सदस्यका रूपमा तीन पटक काम गरिसकेको तथा ४५ वर्षभन्दा बढी समयदेखि पार्टीमा सक्रिय रहेको उल्लेख गरे । युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई आगामी राजनीतिक यात्राको आधार बनाउने उनको भनाइ छ ।

‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ उनले भने ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गर्दा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेको पाण्डेले बताए ।

पार्टी संगठन र सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनमा एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।

महाधिवेशनका क्रममा प्राप्त सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको उनले बताए। साथै, कांग्रेसका महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वाससमेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?