विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन उडाउन नपाइने

लोकपथ
0
Shares

काठमाडौं । बडादसैंको चहलपहल बढेसँगै चंगा उडाउने क्रम बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा चंगा, बेलुन तथा ड्रोन नउडाउन आग्रह गरेको छ ।

प्राधिकरणले विमान उड्ने तथा अवतरण गर्ने क्षेत्रमा चंगा, बेलुन वा ड्रोन पुगेमा हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको छ । विशेषगरी चंगाको डोरी, बेलुन र ड्रोनका कारण विमानको सुरक्षित सञ्चालनमा बाधा पुग्ने जोखिम रहेको भन्दै प्राधिकरणले सचेत रहन आग्रह गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल आसपासका क्षेत्रमा हवाई सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग सहकार्य गर्दै नियमित रूपमा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यालयले सर्वसाधारण, अभिभावक तथा बालबालिकालाई विमानस्थल आसपास चंगा, बेलुन र ड्रोन नउडाउन आग्रह गरेको छ ।

सुरक्षित हवाई उडानका लागि सबै पक्षको जिम्मेवार सहभागिता आवश्यक रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?