गगनलाई प्रचण्डले भने- ‘कांग्रेसको नेतृत्वपछि अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्’

लोकपथ
21
Shares

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापालाई बधाई दिँदै उनमा देशको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए ।

आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बता ए।

‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ । आज त्यही देखिरहेको छु,’ उनले भने ।

विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा ‘क्रमभंग’ भएको प्रचण्डको भनाइ छ । उनले कांग्रेसमा रहेको निरन्तरताको क्रम तोडेर थापा नेतृत्वमा आएको बताए ।

‘यो क्रमभंग हो। निरन्तरतामा क्रमभंग गरेर तपाईं पार्टीको नेतृत्वमा आउनुभएको छ,’ प्रचण्डले भने ।

प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत समेटेर अघि बढ्न थापालाई आग्रह गरे । कांग्रेसलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए ।

थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने प्रचण्डले बताए। त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ थियो ।

‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ,’ प्रचण्डले भने ।

मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै उनले राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती विषय समयमै टुंग्याउनुपर्ने बताए । शान्ति प्रक्रियाका बाँकी विषय समाधान हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको भनाइ थियो ।

‘शान्ति सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ । यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ,’ उनले भने ।

मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।

‘सबै मिलेर समृद्ध नेपालको विकास गर्न सबै मिलेर जानेछौँ भन्ने विश्वास छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?