सस्तो इन्टरनेटको प्याकेज हटाउँदै आईएसपीएएन, अब कति पर्ला शुल्क ?

लोकपथ
98
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएएन) ले आगामी असोज १९ गतेदेखि बजारमा चलिरहेका सस्ता र कम गतिको इन्टरनेट प्याकेजलाई निरन्तरता दिन नसक्ने जनाएको छ ।

आईएसपीएएनका अध्यक्ष सुधिर पराजुलीले जारी गरेको सूचनामा प्रविधि क्षेत्रमा आएको तीव्र परिवर्तन र इन्टरनेट सेवा सञ्चालनको खर्च बढेका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ ।

तर, कुन-कुन गति र मूल्यका प्याकेज हटाइने वा परिवर्तन गरिने भन्नेबारे आईएसपीएएनले स्पष्ट विवरण सार्वजनिक गरेको छैन ।

आईएसपीएएनका अनुसार पछिल्लो समय नेपालमा महँगी बढ्नु, पश्चिम एसियामा भइरहेको तनावका कारण इन्धनको मूल्यमा असर पर्नु र फाइबरको मूल्य बढ्नुले इन्टरनेट सेवा सञ्चालन खर्च बढेको छ ।

त्यस्तै, विश्व बजारमा बढेको मुद्रास्फीति र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासका कारण इलेक्ट्रोनिक उपकरण तथा नेटवर्कमा प्रयोग हुने चिपसेटको मूल्य पनि बढेको संघको भनाइ छ ।

आईएसपीएएनले पछिल्लो १२ वर्षमा नेपालले डिजिटल पहुँचका क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ । संघका अनुसार दक्षिण एसियामा नेपाल फिक्स्ड ब्रोडब्यान्डको पहुँच र घनत्वका हिसाबले अग्रस्थानमा छ । नेपालमा इन्टरनेट सेवा विश्वकै सस्तोमध्येमा पर्ने दाबी पनि संघले गरेको छ ।

संघले सबै इन्टरनेट सेवा प्रदायकलाई गुणस्तरीय सेवा निरन्तर दिन आग्रह गरेको छ । साथै, ‘डिजिटल नेपाल’ को लक्ष्य पूरा गर्न सहयोग गर्न र नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्नो वेबसाइटमा राख्न पनि निर्देशन दिएको छ ।

सेवाग्राहीलाई इन्टरनेटको भ्याट बिल अनिवार्य रूपमा लिन आईएसपीएएनले आग्रह गरेको छ ।

तर, सस्ता इन्टरनेट प्याकेज हटाउने वा परिवर्तन गर्ने घोषणाले सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक भार पर्ने चिन्ता बढेको छ । आईएसपीएएनको घोषणाप्रति उपभोक्ता वर्गबाट असन्तुष्टि समेत व्यक्त हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?