ऊर्जामन्त्री श्रेष्ठले भने– ‘कुलेखानी ड्याम सुरक्षित छ’

लोकपथ
35
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समयको भीषण वर्षाका कारण जोखिममा रहेको भनिएको कुलेखानी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

शनिबार कुलेखानी पुगेर बाँध क्षेत्रको निरीक्षण गरेपछि मन्त्री श्रेष्ठले बाँध पूर्ण रूपमा सुरक्षित र स्थिर रहेको बताएका छन् । उनले सर्वसाधारणलाई कुलेखानी बाँधको अवस्थाबारे ढुक्क रहन आग्रहसमेत गरे ।

असोज ८ देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह सतर्कता तह पार गरेपछि बाँधको सुरक्षा र तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावबारे चासो बढेको थियो । सोही अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा पुगेका हुन् ।

निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको प्राविधिक टोलीले बाँधको वर्तमान अवस्था तथा बाढीका समयमा अपनाइएको सावधानीबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएको थियो ।

मन्त्री श्रेष्ठले विषम परिस्थितिमा प्राधिकरणले २४ सै घण्टा निगरानी राख्दै कुशल व्यवस्थापन गरेको भन्दै प्रशंसा गरे। उनले देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा बाढीका कारण क्षति पुगेपछि ऊर्जा प्रणालीमा केही दबाब सिर्जना भए पनि कुलेखानी जलाशयमा पर्याप्त पानी सञ्चिति रहेकाले आगामी सुख्खा याममा विद्युत् आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए ।

सरकारले ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नियमित तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानीलाई नेपाली विद्युत् प्रणालीको ‘मेरुदण्ड’ को संज्ञा दिँदै उच्च माग हुने समयमा विद्युत् आपूर्ति व्यवस्थापनमा यसको महत्वपूर्ण भूमिका रहने बताए । उनले हाल बाँधको अवस्था पूर्ण रूपमा सामान्य रहेको र विद्युत् प्रणाली सुरक्षित रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?