तीन दिनमा ३० अंक घटेको नेप्से बजार बिहीबार कति बढ्यो ?

लोकपथ
21
Shares

काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक बिहीबार सामान्य बढेको छ । तर, वृद्धि निकै कम भएकाले नेप्से २६ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सकेन ।

बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ । बुधबार नेप्से ४.८२ अंकले घटेर २,५९८.८९ विन्दुमा झरेको थियो । त्यसअघि सोमबार १६.४७ अंक र मंगलबार ९.६२ अंकले घटेको थियो। तीन कारोबार दिनमा नेप्से ३०.९१ अंकले घटेको थियो ।

बिहीबार कारोबार रकम भने बढेको छ। ३५३ वटा कम्पनीको ५१ हजार ७४५ पटकको कारोबारबाट ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल १ करोड २० लाख ६५ हजार कित्ता सेयर किनबेच भएको हो ।

कारोबार रकम बढे पनि नेप्सेमा ठूलो सुधार आउन सकेन। पछिल्लो समय बजार २६ सय विन्दुको आसपासमा उतारचढाव भइरहेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेका छन् ।

सिन्धु विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै १०.८१ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ९ प्रतिशत र इमर्जिङ नेपाल हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ ।

यता सयपत्री हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.६६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अगाडि रहेको छ । बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन थियो। त्यसका कारण बैंकको सेयरमा कारोबार बढेको देखिएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेस्टमेन्ट नेपालको करिब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये चारवटाको सूचक बढेको छ भने आठवटाको घटेको छ। लगानी उपसमूहको सूचक भने स्थिर रहेको छ ।

बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूह बढेका छन् । व्यापार उपसमूह सबैभन्दा धेरै १.०५ प्रतिशत घटेको छ। अन्य घट्ने उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ ।

यसरी लगातार तीन दिन घटेको नेप्सेमा बिहीबार सामान्य सुधार आए पनि बजारले २६ सय विन्दु पार गर्न सकेन । कारोबार रकम भने बढेर ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?