भोटेकोशी बाढीको बीमा दाबी २१ अर्ब पुग्यो, चार कम्पनीले गरे भुक्तानी

लोकपथ
49
Shares

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट निर्जीवन बीमा कम्पनीहरूमा करिब २१ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्म २ हजार १८० जना बीमितले १८ वटा निर्जीवन बीमा कम्पनीमा २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी पेस गरेका छन् । बाढी आएको पहिलो सातामै १४ अर्ब रुपैयाँ बराबरको दाबी परेको थियो ।

सबैभन्दा धेरै दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको दाबी परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्समा ३ अर्ब ५० करोड, शिखर इन्स्योरेन्समा २ अर्ब ९९ करोड, सगरमाथा लुम्बिनीमा १ अर्ब ९३ करोड, सिद्धार्थ प्रिमियरमा १ अर्ब १२ करोड र नेकोमा १ अर्ब १ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ ।

आईजीआई प्रुडेन्सियलमा ८३ करोड, युनाइटेड अजोडमा ८२ करोड, दि ओरियन्टलमा ८२ करोड, नेपाल इन्स्योरेन्समा ५६ करोड, प्रभु इन्स्योरेन्समा ५० करोड र एनएलजीमा ४६ करोड रुपैयाँ बराबरको दाबी परेको छ ।

त्यस्तै, स्टार माइक्रोमा ६ करोड ४७ लाख, ट्रस्ट माइक्रोमा २ करोड ७९ लाख, राष्ट्रिय बीमा कम्पनीमा १ करोड ५७ लाख, प्रोटेक्टिभ माइक्रोमा ८८ लाख, नेशनल इन्स्योरेन्समा ५३ लाख र नेपाल माइक्रोमा ३७ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ ।

सम्पत्ति बीमामा सबैभन्दा धेरै दाबी

पोर्टफोलियोका आधारमा सबैभन्दा धेरै दाबी सम्पत्ति बीमातर्फ परेको छ । सम्पत्ति बीमामा ९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ ।

इन्जिनियरिङ तथा ठेक्का बीमामा ४ अर्ब ४१ करोड, मोटर बीमामा ३ अर्ब ७ करोड, मरिन बीमामा २ अर्ब ४८ करोड, स्वास्थ्य बीमामा २२ करोड र अन्य विभिन्न पोर्टफोलियोमा १ अर्ब ३६ करोड रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

चार कम्पनीबाट दाबी भुक्तानी

हालसम्म चारवटा बीमा कम्पनीले मात्रै दाबी भुक्तानी गरेका छन् । ती कम्पनीले कुल ६८ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेका छन् ।

शिखर इन्स्योरेन्सले २६ लाख ६२ हजार, आईजीआई प्रुडेन्सियलले २२ हजार, युनाइटेड अजोडले ३३ लाख १४ हजार र एनएलजी इन्स्योरेन्सले ७ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?