अर्थमन्त्री डा. वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

लोकपथ
7
Shares

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायी बीच भेटवार्ता भएको छ ।

कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेकी हुन् ।

भेटका क्रममा एआईआईबीकी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरिन् । उनले विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ । साथै, स्पेसलाइस्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरिन् ।

एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्‍याइन् ।

सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै बैंकले संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे ।

साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति उनले दुःख व्यक्त गरे ।

अर्थमन्त्री डा. वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाईन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे ।

छलफलकै क्रममा अर्थमन्त्री डा. वाग्लेले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?