सप्तरीमा बाढी : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

लोकपथ
28
Shares

सप्तरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ ।

बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् । बाढीबाट दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा मात्रै ४८३ घर डुबानमा परेका छन् । यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार शुक्रबार रातिदेखि सप्तकोशी नदीमा पानीको बहाव बढेपछि बस्तीमा बाढी पसेको हो ।

बाढी प्रभावितका लागि तत्काल राहतस्वरूप बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको उनले बताए । पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री वितरण गर्ने नगरपालिकाको तयारी छ ।

लगातारको वर्षा र नदीको जलस्तरमा उतारचढाव भइरहेकाले सप्तरीका नदी तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेको प्रशासनले जनाएको छ । स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?