नुवाकोट । लगातारको वर्षाका कारण त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन बन्द हुँदा नुवाकोटका नदीपारिका बस्तीको जनजीवन प्रभावित भएको छ ।
नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक समस्या देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा जडान गरिएका तुइन बन्द गरिएको हो ।
तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकातर्फ रहेको झोलुङ्गे पुल वा धादिङको गल्छीस्थित पक्की पुल प्रयोग गर्नुपर्ने बाध्यता भएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने पुल तथा सडकको पहुँच मार्गसमेत बगाएपछि विदुर नगरपालिका र बागमती प्रदेश सरकारको सहकार्यमा चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको थियो ।
त्रिशूली नदी वारपारका बस्तीलाई जोड्न विदुर नगरपालिका–१ इन्द्रायणीचौरमा दुई ठाउँ, वडा नं. ४ र १२ जोड्ने सिमचौरमा एक ठाउँ तथा वडा नं। ५ र ३ जोड्ने देवीघाटमा एक ठाउँमा तुइन जडान गरिएको थियो ।
पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाका अनुसार लगातार वर्षा भइरहेकाले तुइनका घिर्नी सञ्चालनमा कठिनाइ भएको छ । नदी वारपार गर्ने क्रममा तुइन बीचमै अड्किन सक्ने जोखिम रहेकाले सञ्चालन रोकिएको उनले बताए ।
‘प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो,’ उनले भने, ‘मौसम सफा भएर नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइनेछ ।’
देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं.३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्याएकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्र उक्त तुइन सञ्चालनमा ल्याइने थापाले बताए ।
भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा आएपछि धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न नसक्दा नदी वारपारका लागि तुइन नै प्रमुख माध्यम बनेको छ ।
तुइनसमेत बन्द भएपछि नदीपारिका बस्तीमा बाढीबाट क्षति भएका घरको भग्नावशेष हटाउने, खोज तथा उद्धार गर्ने र राहत वितरण गर्ने कामसमेत प्रभावित भएको छ ।
विदुर नगरपालिका–७ का वडाध्यक्ष रबिन्द्र नेपालले नदी वारपार गर्ने माध्यम बन्द हुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुन थालेको गुनासो गरे ।
त्यस्तै, नदी पार गर्ने माध्यम नहुँदा सदरमुकाम विदुरबाट त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पतालसम्म पुग्नसमेत समस्या भएको छ । अस्पताल जान नसक्दा कतिपय बिरामीलाई जिल्ला बाहिर लैजानुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।
तुइन सञ्चालन बन्द भएपछि विदुर नगरपालिकाका नदीपारिका आठ वडासहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको नियमित आवतजावतसमेत प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया