नारायणी नदीको जलसतह खतराभन्दा माथि, गोब्रेनी बस्तीमा बाढी पस्न थाल्यो

लोकपथ
28
Shares

काठमाडौं । लगातारको भारी वर्षाका कारण नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेको छ । बिहान ८ः५६ बजे गरिएको मापनअनुसार नारायणी नदीको जलसतह ११.०६ मिटर पुगेको छ ।

सामान्यतया ९ मिटरलाई खतराको तह मानिने नारायणीमा पानीको सतह बढेपछि भरतपुर महानगरपालिका–१७ स्थित गोब्रेनी बस्तीमा बाढी पस्न थालेको हो ।

बाढी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ जान थालेका छन् । घरभित्र पानी पस्न थालेपछि स्थानीयले खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सामान सुरक्षित स्थानमा सारिरहेका छन् ।

चितवन तथा आसपासका क्षेत्रमा लगातार वर्षा भइरहेकाले नारायणी नदीको जलसतह अझै बढ्न सक्ने जोखिम रहेको छ ।

स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । नारायणी नदीको जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का तल्लो तटीय क्षेत्रका बस्तीमा समेत जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?