काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।
उनका अनुसार तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न भने समस्या छ । थप पहिरो नखसेमा आजदेखि नियमित रूपमा बाटो सञ्चालनमा आउने उनले बताए ।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । पहिरोको जोखिमका कारण रातभर राजमार्ग बन्द गरिएको थियो ।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि राजमार्ग पुनः अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया