थाइल्यान्डमा नेपाली जडीबुटी तथा आयुर्वेद व्यवसाय प्रवर्द्धनबारे छलफल

लोकपथ
21
Shares

काठमाडौं । नेपाली जडीबुटी तथा आयुर्वेदजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले थाइल्यान्डमा व्यवसायीबीच बीटुबी (व्यवसायदेखि व्यवसाय) बैठक तथा छलफल सम्पन्न भएको छ ।

गत असोज २ गते सम्पन्न कार्यक्रममा नेपाली जडीबुटी, आयुर्वेदिक औषधि, कस्मेटिक सामग्री तथा सुगन्धित तेललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको हो ।

जडीबुटी व्यवसायी संघ नेपालसँग आबद्ध व्यवसायी तथा उद्यमीहरूको सहभागितामा भएको कार्यक्रममा नेपाली र थाइल्यान्डका व्यवसायीबीच व्यापारिक सहकार्य, बजार विस्तार, आयात–निर्यात तथा लगानीका सम्भावनाबारे छलफल भएको थियो ।

जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णु भण्डारीका अनुसार नेपालका हिमाली तथा पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, प्याकेजिङ तथा बिक्री वितरण हुँदै आएको छ ।

यार्सागुम्बा, गुच्ची च्याउ, रातो च्याउ, टिमुर, अलैंची, चिराइतो, कुट्की, सतुवा, जटामसी, निरमसी र वन लसुनलगायतका जडीबुटी तथा तिनबाट उत्पादित सुगन्धित तेल र आयुर्वेदिक सामग्रीलाई विदेशी बजारमा विस्तार गर्ने संघको उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा विभिन्न जडीबुटी तथा आयुर्वेद व्यवसायमा संलग्न व्यवसायीहरूको सहभागिता थियो । सहभागीले जडीबुटीका कच्चा पदार्थ, हर्बल उत्पादन, आयुर्वेदिक औषधि, कस्मेटिक सामग्री तथा प्राकृतिक उत्पादनको उत्पादन, प्रशोधन र निर्यातबारे जानकारी गराएका थिए ।

कार्यक्रममा न्यू भण्डारी ट्रेडर्स, महालक्ष्मी आयुर्वेदिक औषधि उद्योग प्रालि, श्री कन्हैया स्टोर, सेती देवी इन्टरप्राइजेज सप्लायर्स, गोपाल केन्सी स्टोर एन्ड सप्लायर्स, कर्णाली अर्गानिक जडीबुटी सप्लायर्स, राधाकृष्ण हर्बल स्टोर, हर्ब्स एन्ड अर्गानिक प्रालि, जम्बाला हर्बल प्रालिलगायतका संस्थाका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा सहभागी व्यवसायी तथा संस्थाका प्रतिनिधिलाई थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालका हिमाली तथा पहाडी क्षेत्रबाट संकलित जडीबुटी प्रशोधन र प्याकेजिङ गरी भारत, चीन, थाइल्यान्ड, अमेरिका, युरोप र जापानलगायतका बजारमा बिक्री वितरण हुँदै आएको जानकारी गराइएको थियो ।

संघले नेपाली जडीबुटीको व्यवस्थित उत्पादन, संकलन, प्रशोधन र अन्तर्राष्ट्रिय बजारीकरणमा जोड दिएको छ । नेपाली उत्पादनका लागि नयाँ बजार खोज्न तथा व्यापारिक सम्बन्ध विस्तार गर्न सरकारी निकाय, नेपाली दूतावास र विदेशी व्यवसायीसँग सहकार्य गर्ने योजना रहेको संघले जनाएको छ ।

कार्यक्रमका अवसरमा थाइल्यान्डस्थित नेपाली दूतावाससँग समन्वय र सहयोगका लागि अनुरोधसमेत गरिएको थियो ।

कार्यक्रमका मुख्य आयोजक तथा संयोजक ओपनखबर मिडिया प्रालिका सञ्चालक मोहनकृष्ण अधिकारीले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र नभई प्रशोधन गरेर उच्च मूल्यका उत्पादन बनाउन सके ठूलो आर्थिक सम्भावना रहेको बताए ।

नेपाली जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन व्यवसायी, सरकार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

अधिकारीले आगामी दिनमा पनि नेपाली जडीबुटी तथा अन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि यस्ता कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिए । उनले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन नेपाल सरकारको सहयोग अपेक्षा गरिएकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?