काठमाडौं । नियामकीय मापदण्ड पालना नगरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियम उल्लङ्घन गरेको पाइएपछि चारवटा लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने दुईवटालाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तलाई गत वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको थियो । २०८२ असार मसान्तमा संस्थाको न्यूनतम पुँजीकोष अनुपात ६।१२ प्रतिशत मात्र रहेको पाइएपछि कारबाही गरिएको हो ।
त्यस्तै, धौलागिरी लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम रहेको पाएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ ।
मातृभूमि लघुवित्तमाथि पनि २०८३ वैशाख २९ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ । संस्थाको न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र रहेको पाइएपछि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, एनआईसी लघुवित्तको न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत रहेको पाएपछि २०८३ असार १२ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ ।
यस्तै, अनिवार्य नगद मौज्दातसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै वीन नेपाल लघुवित्तलाई नगद जरिवाना गरिएको छ । २०८२ चैतमा आवश्यक अनिवार्य नगद मौज्दात कायम नगरेपछि संस्थालाई २०८३ असार २३ गते पहिलोपटक ५८.३८ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सञ्जीवनी लघुवित्तले भने पटक–पटक अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको छ । राष्ट्र बैंकका अनुसार संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दातसम्बन्धी व्यवस्था पालना गरेको थिएन । सोही कारण संस्थामाथि विभिन्न समयमा जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया