यसपालिको दसैँमा राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने, खाद्यले खसी–च्याङ्ग्रा पनि नबेच्ने, कारण के ?

लोकपथ
539
Shares

काठमाडौं । यस वर्षको दसैंमा सर्वसाधारणले विगतमा पाउँदै आएका दुई सुविधा नपाउने भएका छन् ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दसैंका लागि खसी–च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले अघिल्लो वर्षदेखि नै खसी–च्याङ्ग्रा बिक्री गर्न छाडेको थियो ।

सरकारले सहुलियत मूल्यमा खसी–च्याङ्ग्रा बिक्री नगर्दा दसैंमा बजारमा मूल्य बढ्न सक्ने देखिएको छ । सरकारी बिक्री केन्द्र नहुँदा निजी व्यवसायी र बिचौलियाको प्रभाव बढ्न सक्ने चिन्ता पनि छ ।

खसी–च्याङ्ग्राको आपूर्ति सहज नभए बजारमा मूल्य बढ्न सक्ने भएकाले सरकारले प्रभावकारी बजार अनुगमन गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

यता, नेपाल राष्ट्र बैंकले पनि यस वर्ष दसैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण धेरै नागरिक प्रभावित तथा विस्थापित भएका छन् भने भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।

विपद्पछिको पुनःस्थापना र आवश्यक वित्तीय स्रोत व्यवस्थापनलाई ध्यानमा राख्दै यस वर्ष नयाँ नोट बजारमा नपठाउने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले विपद्का कारण बैंकिङ क्षेत्रका ऋणी, व्यवसायी तथा समग्र अर्थतन्त्रमा परेको प्रभावको समेत मूल्यांकन गरिरहेको जनाएको छ ।

यस वर्ष दसैंमा सरकारी सहुलियतमा खसी–च्याङ्ग्रा बिक्री नहुने र नयाँ नोट पनि वितरण नगरिने भएपछि विगतको भन्दा फरक अवस्था देखिने भएको छ । बजारमा मूल्यवृद्धि हुन नदिन र उपभोक्ताको हित संरक्षण गर्न सरकारी अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?