भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात

लोकपथ
0
Shares

काठमाडौं । नेपालले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भदौमा भारत र बङ्गलादेशतर्फ गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरिएको हो । प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ ।

द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्रीबाट ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, भोटेकोशी बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि बङ्गलादेशतर्फको विद्युत् निर्यात हाल रोकिएको छ ।

अन्य आयोजनाबाट बङ्गलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न भारतीय पक्षबाट आवश्यक स्वीकृति लिन पहल भइरहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?