चिलिमेमा भेटिएका ५ वटा शव त्रिशूलीमा, पहिचानका लागि परिवार बोलाइयो

लोकपथ
329
Shares

काठमाडौं । रसुवा बाढीको २१ दिनपछि चिलिमे जलविद्युत आयोजनाको टनेलमा ५ जनाको शव फेला परेको छ ।

बुधबार दिउँसो नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले ५ वटा शव फेला पारेको हो ।

चिलिमे जलविद्युत कम्पनीका सचिव नारायणप्रसाद आचार्यका अनुसार निकालिएका ५ वटै शव नुवाकोटको त्रिशूली ल्याइएको छ ।

विद्युतगृहभित्र ६ जना रहेको अनुमान गरिएकोमा ५ जनाको मात्रै शव भेटिएको हो । विद्युतगृहमा ५ जना जलविद्युत केन्द्रका कर्मचारी तथा एक जना नेपाल विद्युत प्राधिकरणबाट गेटमा खटिएका कर्मचारी रहेका थिए ।

भेटिएका शवको पहिचान हुन नसकेको र विद्युतगृहमा थुनिएका अनुमान गरिएका परिवारका सदस्यहरुलाई त्रिशूली बोलाइएको र बिहीबार मात्रै शवको पहिचान हुनसक्ने आचार्यले बताए ।

कम्पनीका अनुसार जलविद्युत केन्द्रको विद्युतगृहसम्म पुग्ने पहुँच सुरुङ हिलो, लेदो, ठूला ढुंगा तथा काठका टुक्रा थुपारेको हुँदा स्याफ्रुबेसीदेखि पहुँच सडक निर्माण गरी मेसिनरी उपकरण लगेर २१औँ दिनमा मात्रै फसेकाहरुसम्म पुग्न सकिएको हो ।

आयोजनाको टनेलमा रहेकाहरुको खोजी तथा उद्धारका लागि गोताखोरसहितको नेपाली सेना, सशस्त्र प्रहरी र भारतीय सेना लगायतको टोली परिचालन गरिएको थियो ।

त्यसो त धेरै कर्मचारी हराइरहेको अर्को आयोजना हो नुवाकोटको २१६ मेगावाटको माथिल्लो त्रिशूली थ्री ए । त्यहाँ उद्धार तथा खोजीको काम बुधबार पनि जारी रहेको स्वतन्त्र उर्जा उत्पादकहरुको समूह (इप्पान) ले जनाएको छ ।

बुधबार खोजीका क्रममा अडिट ३ सुरुङबाट अपस्ट्रिपमा मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाउने तथा अघि बढ्ने क्रममा थप ५ वटा शव फेला परेको हो । हालसम्म उक्त आयोजनास्थलबाट १५ जनाको शव फेला परिसकेको छ ।

बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४ सय ३३ जना कर्मचरी कार्यरत रहेका थिए । जहाँबाट हालसम्म ८७८ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?