कांग्रेस १५औँ महाधिवेशन : पालिका सभापतिसमेत स्वतः प्रतिनिधि, यस्तो छ विवरण ? [सूचीसहित]

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

गत महाधिवेशन भन्दा यो महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरुको संख्या वृद्धि भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका थिए । तर गत पुसमा सम्पन्न विशेष महाधिवेशनले संशोधन गरेको विधानअनुसार महाधिवेशन प्रतिनिधि संख्या बढ्ने देखिएको हो ।

कांग्रेस निर्वाचन समितिका अनुसार देशभरका १६५ वटा प्रतिनिधि सभा क्षेत्रका क्षेत्रीय सभापतिसहित ३३ जना महाधिवेशन प्रतिनिधि आउनेछन् । जसअनुसार प्रतिनिधि सभा क्षेत्रबाट मात्रै ५ हजार ४ सय ४५ महाधिवेशन प्रतिनिधि आउनेछन् ।

यता प्रदेश सभा क्षेत्रका सभापति र पालिका सभापति समेत स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्र २ वटा प्रदेश सभा हुने भएकाले त्यहाँबाट दुई जनाको दरले ३३० जना महाधिवेशन प्रतिनिधि आउनेछन् ।

यसअघि पालिका सभापति र प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान रहेको थिएन । प्रतिनिधि सभा क्षेत्रका क्षेत्रीय सभापति मात्रै स्वतः महाधिवेशन प्रतिनिधि हुने गरेकोमा संशोधित विधानले पालिका सभापति र प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति समेत स्वतः महाधिवेशन प्रतिनिधि बन्ने बाटो खोलिएको हो ।

यता देशभरका ७५३ पालिकाका तर्फबाट सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुँदा ७५३ महाधिवेशन प्रतिनिधि हुनेछन् ।

प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्र र पालिकाबाट मात्रै ६ हजार ५ सय २८ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । यसबाहेक विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा सुभेच्छुक संस्था लगायतबाट समेत महाधिवेशन प्रतिनिधि आउनेछन्, त्यसको संख्या भने यकिन गरिएको छैन ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज ३ गतेबाट सुरु हुँदैछ । असोज ३ गते वडा अधिवेशन हुँदै आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?