काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउन सरकारले तयारी गरिरहेको बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद्को जोखिम कम गर्न अति उच्च जोखिममा रहेका हिमतालको पानी घटाउने गृहकार्य भइरहेको जानकारी दिए ।
उनका अनुसार जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक विधिबाट बाहिर निकाल्ने विषयमा विज्ञहरूसँग छलफल भइरहेको छ । आवश्यक परे ब्लास्टिङ गरेर पानीको सतह घटाउने विषयमा पनि छलफल अघि बढाइएको उनले बताए ।
‘जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले बाहिर निकालेर जोखिम कम गर्नुपर्छ । पूर्वतयारीमा हामी गम्भीर छौं,’ मन्त्री श्रेष्ठले भने ।
कुन–कुन हिमतालको पानीको सतह घटाउने भन्ने विषयमा भने अझै निर्णय भइनसकेको उनले स्पष्ट पारे । विज्ञहरूसँगको परामर्श र अध्ययनपछि जोखिमको मात्रा हेरेर निर्णय लिइने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले ग्रिन क्लाइमेट फण्ड (जीसीएफ) बाट प्राप्त सहयोग परिचालन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा यसै वर्ष काम अघि बढाइने बताए ।
इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् । तीमध्ये कोसी र गण्डकी क्षेत्रमा चार वटा हिमताल अति उच्च जोखिममा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया