काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी) को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत आर्थिक रूपमा विपन्न बिरामीको एक हजार वटा ‘मेजर अप्रेसन’ निःशुल्क गर्ने घोषणा गरेका हुन् ।
उनले मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको पनि जानकारी दिए । यसबारे थप छलफल गरेर घोषणा गर्ने उनको भनाइ छ ।
शर्माले स्वर्गीय कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने बताए । नेता कोइरालाले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न खेलेको भूमिकाबारे नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको उनले बताए ।
आफूले गिरिजाप्रसाद कोइरालाकै हातबाट नेपाली कांग्रेसको साधारण सदस्यता लिएको स्मरण गर्दै शर्माले फाउन्डेसनलाई सभापतिसँग समन्वय गरेर कांग्रेस र नेपाली जनताको पक्षमा अघि बढाउने प्रतिबद्धता जनाए ।
उनले पार्टीभित्र देखिएको विवाद समाधान गरी नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया