काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिँदै माफी मागेकी हुन् ।
उनले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन् ।
मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो । मन्त्री गौतमले आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उनको दाबी समेत गरिन् ।
उनले आफू राजनीतिक व्यक्ति भएकाले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या भएको बताउँदै उनले कानून निर्माण प्रक्रिया जटिल भएको वास्तविक तथ्यलाई राजनीतिक कोणबाट व्याख्या गरिएकोप्रति असन्तुष्टि पनि जनाइन् ।
उनले भनिन्, ‘मैले जेनजी स्मृति दिवसको सन्दर्भमा बोलेका केही विषयवस्तुहरूलाई लिएर मान्यज्यूहरूले केही प्रश्नहरू गर्नुभएको छ । जेनजी सहिदका परिवारहरूले एउटा कार्यक्रम आयोजना गर्नुभएको थियो । सो कार्यक्रममा सरकारका मन्त्रीहरूलाई पनि निमन्त्रणा थियो । विभिन्न दलका नेतागणहरूलाई पनि निमन्त्रणा थियो । त्यस कार्यक्रममा मन्त्रीका हैसियतले जेनजी स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगेँ । त्यस सवालमा मलाई कानुन निर्माण चाहिँ छिटो गरियोस् । दुई तिहाइ भोट हालेर पठाएका छौँ, अब कानुन निर्माण छिटो हुनुपर्यो । संविधान नै संशोधन गर्नुपर्यो भन्ने आशयसहित प्रश्नहरू पनि मलाई आइराखेका थिए । मैले तथ्यभन्दा बाहिर गएर कुनै पनि यस्तो कुरा भनेको छैन जसले यहाँहरूको भावनामा चोट परोस । मैले भनेको कुरा के थियो भने, प्रतिनिधिसभामा दुई तिहाइ छ । कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्रै पूर्ण हुँदैन । कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि कानुन निर्माण हुन्छ । यो कम्प्लेक्स प्रक्रिया छ । र अब यसलाई यो तथ्य हो, यसलाई राजनीतिक भाषा जसरी बनाएर व्याख्या गर्न चाह्यो त्यसरी नै व्याख्या हुन्छ जस्तो मलाई लाग्दछ । मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कहीँ कतै त्यस्तो भाषा, शब्द प्रयोग गरेको छैन । त्यो मान्यज्यूहरूले पनि हेर्न सक्नुहुन्छ । तर मैले भनेका कुराले गर्दाखेरि मैले त्यहाँ बोलेको तथ्यले गर्दाखेरि राजनीतिक व्यक्ति हुँ । राजनीतिक व्यक्ति भएको कारणले गर्दाखेरि समाचारहरूमा पत्रकारज्यूहरूले अथवा चाहिँ सामाजिक विश्लेषकहरूले विभिन्न अर्थ लगाएर एउटा खालका सप्रसङ्ग व्याख्यासहितका विषयहरू पनि सामाजिक सञ्जालहरूमा देखिए ।’
उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरु प्रतिबद्ध रहेको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया