न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वका साझा समस्यामाथि छलफल हुने

लोकपथ
21
Shares

अमेरिका । संयुक्त राष्ट्रसंघको ८१औँ महासभा मंगलबारदेखि अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा सुरु भएको छ । महासभा सेप्टेम्बर २९ सम्म चल्नेछ ।

‘विश्वासको पुनर्स्थापना, रुपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित सुरु भएको महासभामा विश्वका विभिन्न समस्याबारे छलफल हुनेछ ।

महासभाका अध्यक्ष खालिलुर रहमानले विश्वशान्ति, सुरक्षा, न्याय र जलवायु परिवर्तनजस्ता विषयमा प्रभावकारी छलफल हुने विश्वास व्यक्त गरे । उनले विश्वका साझा समस्या समाधानका लागि महासभा महत्वपूर्ण हुने बताए ।

त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अहिले विश्व विभिन्न द्वन्द्व, गरिबी, जलवायु परिवर्तन, आणविक जोखिम र विभाजनजस्ता समस्याबाट प्रभावित रहेको बताए । उनले संवाद, सहकार्य र आपसी सहयोगबाट यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

महासभाका क्रममा दिगो विकास, मानवअधिकार, वातावरण संरक्षण, डिजिटल प्रविधि र संयुक्त राष्ट्रसंघको सुधारलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले विज्ञप्ति जारी गर्दै महासभाबाट विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका विषयमा सकारात्मक परिणाम आउने अपेक्षा गरेको जनाएको छ । नियोगले महासभाका अध्यक्ष रहमानलाई बधाईसमेत दिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी सहयोग आवश्यक रहेको बताएका छन् ।

उनले कम विकसित देशहरूको उत्पादन क्षमता बढाउन, डिजिटल प्रविधिको प्रयोग विस्तार गर्न, जलवायु परिवर्तनको असर सामना गर्न, क्षेत्रीय व्यापार बढाउन र सामाजिक सुरक्षा मजबुत बनाउन आवश्यक स्रोत र प्रतिबद्धता जुटाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?