सुशीला कार्कीको सन्देश– ‘सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन’

लोकपथ
98
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र जवाफदेहिता कायम नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताएकी छन् ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने बताएकी हुन् ।

उनले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न स्पष्ट सन्देश दिएको उल्लेख गरेकी छन् । जनताको माग सम्बोधन नगरी पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले इमानदार र जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

कार्कीले एक वर्षअघि सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएका युवामाथि भएको दमनमा निर्दोष युवाले ज्यान गुमाएको र धेरै घाइते भएको स्मरण गरेकी छन् । उनले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षति र राष्ट्रिय सम्पदा तथा धरोहर गुमेको उल्लेख गर्दै उनले त्यस्तो घटना पुनः दोहोरिन नहुने बताएकी छन् ।

कार्कीले जेनजी आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नपुग्दै देश भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको भन्दै विपद्को समयमा धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न पनि आग्रह गरेकी छन् ।

उनले दुःखमा एकअर्काको सहारा बन्दै ऐक्यबद्ध भएर विपद्को सामना गर्न आह्वान गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?