प्रधानमन्त्री बालेन असोज ६ गते अमेरिका जाने, राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन् ।

प्रधानमन्त्री शाहले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने तयारी छ । छोटो अवधिका लागि न्यूयोर्क जान लागेका उनले भोटेकोशी बाढीबाट नेपालमा भएको ठूलो जनधनको क्षति तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।

भोटेकोशी बाढीपछि नेपालजस्ता हिमाली मुलुकले जलवायु परिवर्तनका कारण भोगिरहेको असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुनुपर्ने आवाज उठेको थियो । त्यसपछि सरकारले यसअघि तय गरेको प्रतिनिधिमण्डलको नेतृत्व परिवर्तन गर्दै प्रधानमन्त्री शाहलाई नै महासभामा पठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो । अब परराष्ट्रमन्त्री खनाल पनि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुने तयारी छ ।

प्रधानमन्त्रीको भ्रमण छोटो राख्नुका साथै प्रतिनिधिमण्डल पनि सानो बनाउने तयारी गरिएको छ । पछिल्लो विवरणअनुसार प्रधानमन्त्रीसहित औपचारिक टोली आठ जनासम्म सीमित हुने सम्भावना छ ।

टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल तथा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत रहने तयारी छ ।

प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने गरी भ्रमणको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?