परराष्ट्र मन्त्रालयले भन्यो– ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

लोकपथ
21
Shares

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा अझै मानिसहरू फसेको हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य तीव्र पारिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, अपर त्रिशूली–३ ‘ए’ र अपर त्रिशूली–३ ‘बी’ लगायतका आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी छ ।

भारत, चीन र दक्षिण कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी उद्धार कार्य गरिरहेका छन् । उद्धारमा ड्रोन, लोड क्यारियर, विभिन्न उपकरण तथा अन्य सामग्री प्रयोग भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाका अनुसार शुक्रबार दिउँसोसम्म सात सैनिक र छ गैरसैनिक हवाई उडानमार्फत बाढी प्रभावित विभिन्न क्षेत्रबाट २९ जनाको उद्धार गरिएको छ ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङबाट संयुक्त उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ । उद्धार गरिएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याई उपचार भइरहेको छ । सोही क्रममा एक शवसमेत निकालिएको सेनाले जनाएको छ ।

त्रिशूली–३ ‘बी’ आयोजनाको ‘अडिट–१’ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ । एक्साभेटरमार्फत बाटो खोल्ने तथा ‘अडिट–१’ बाट एक्साभेटर सुरुङभित्र प्रवेश गराई त्रिशूली–३ ‘ए’ सँग लिङ्कअप गराउने कामसमेत भइरहेको छ ।

लाङटाङ हाइड्रोमा नेपाली सेना र गैरसैनिकसहितको टोलीले सुरुङभित्र प्रवेश गरी दुई शव फेला पारेको छ । चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको टोलीले जेनेरेटर र मडपम्प प्रयोग गरी सुरुङमा जमेको लेदो हटाइरहेको छ ।

त्यस्तै अपर त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको टोलीले राफ्ट तथा बोट प्रयोग गरी खोजी गरिरहेको छ । सुरुङभित्रको पानी बाहिर निकाल्ने कामसमेत भइरहेको सेनाले जनाएको छ ।

सरकारका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ९३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक छन् । अझै करिब ५ हजार ८३ जना बेपत्ता रहेको र तीमध्ये ३५ देशका करिब ६०० विदेशी नागरिक रहेको सरकारको विवरण छ ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार २८७ शव बरामद भएका छन् । मृतकको पहिचानका लागि डिएनए सङ्कलन, विश्लेषण तथा पहिचान कार्यलाई समेत तीव्रता दिइएको छ ।

यसका लागि भारत, चीन, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोली नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी काममा सहभागी भएका छन् ।

सरकारले उद्धार तथा राहतका लागि भारत, चीन, संयुक्त अरब इमिरेट्स, बेलायत, जापान, अमेरिका, कतार, सिङ्गापुर, दक्षिण कोरिया, अष्ट्रेलिया, जर्मनीलगायत विभिन्न देश तथा एसियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसङ्घसहितका अन्तर्राष्ट्रिय संस्थाबाट सहयोग प्राप्त भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?