काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ललितपुरका कविर महर्जनको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
नेपाली सेना, प्राविधिक तथा विज्ञसहितको टोलीले शुक्रबार बिहान महर्जनको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको हो । उनलाई अहिले सैनिक अस्पताल छाउनीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
महर्जनकी श्रीमती हीराशोभा महर्जनले श्रीमान् जीवितै फर्किएपछि परिवारमा खुसीको सीमा नरहेको बताइन् । उनका अनुसार उद्धारपछि सुरुमा महर्जनले उनलाई समेत चिन्न सकेका थिएनन् । अहिले भने केही बोल्न सक्ने अवस्थामा रहेको उनले बताइन् ।
महर्जनको खुट्टामा सामान्य चोट लागेको छ भने शरीर पहेँलो देखिएको श्रीमती हीराशोभाले जानकारी दिइन् । चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ ।
‘उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन । अहिले उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ,’ उनले भनिन्, ‘नेपाल आर्मीले उहाँको जीवन बचाइदिनुभएकोमा धन्यवाद दिन चाहन्छौँ ।’
महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया